मेलबर्न। अष्ट्रेलियाको मेलबर्नको नेपाली समुदायमा यतिबेला ‘मेलबर्न आध्यात्मिक उत्सव’ को उत्साह छाएको छ। आगामी डिसेम्बर १२ तारिखमा आध्यात्मिक उत्सवको उद्घाटन हुनेछ। प्रख्यात कथावाचिका राधिका दासीजीको संगीतमय प्रवचन रहने यस उत्सवको आयोजना अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (अष्ट्रेलियन नेपलीज मल्टिकल्चरल सेन्टर) ‘एएनएमसी’ ले गरेको हो।
‘मेलबर्न आध्यात्मिक उत्सव’को मुख्य कार्यक्रम डिसेम्बर १८ तारिखको कलश यात्रा पश्चात सुरु हुनेछ। १८ तारिख दिउँसो ३ बजे सबैजना भेला भई ४ बजेदेखि कलश यात्रा सुरु गरिने आध्यात्मिक उत्सव संयोजक तथा एएनएमसी उपाध्यक्ष केशव कंडेल बताउनुहुन्छ। उहाँ भन्नुहुन्छ,” यो महोत्सव धार्मिक रुपले मात्र नभइ सांस्कृतिक रुपले पनि नेपाली समुदायका लागि अत्यन्त महत्त्वपूर्ण उत्सव हो। त्यसैले कलश यात्रामा सहभागी हुँदा सम्भव भएसम्म आफ्नो मौलिक, सांस्कृतिक भेषभुषा सहित आउनुहुन हामी सबैलाई अनुरोध गर्दछौँ। यसले नेपाली समुदायको सांस्कृतिक चिनारी, एकता र संगै, संस्थाप्रति अपनत्वको भावको पनि प्रतिनिधित्व गर्नेछ”।
मन्दिर तथा गुम्बा सहितको सांस्कृतिक केन्द्र निर्माणका लागि स्थापना भएको एएनएमसीले आफ्नो मुख्य उद्देश्य प्राप्तिका लागि विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको छ। संस्थाका वर्तमान अध्यक्ष तिलक पोखरेलले यस्ता कार्यक्रमले संस्थाको मुख्य उद्देश्य संगै नेपाली समुदायको पहिचान तथा प्रबर्द्धनमा पनि सहयोग पुग्ने बताउनुहुन्छ।
यसपटकको धार्मिक महोत्सवको अर्को उद्देश्य ‘ऋणमुक्त एएनएमसी’ पनि हो। यसका लागि हातेमालो गर्न एएनएमसीले सबैलाई अनुरोध गरेको छ। अध्यक्ष पोखरेलका अनुसार, यस आध्यात्मिक महोत्सवबाट संकलित आर्थिक सहयोग एएनएमसीको जग्गा खरिदका क्रममा लागेको ऋण तिर्नका लागि प्रयोग हुनेछ। हामीसंगको कुराकानीमा उहाँले महोत्सव सफल बनाउनका लागि सबैजनाको सहयोग रहेमा यो उद्देश्य पूरा गर्न सकिने विश्वास व्यक्त गर्नुभयो।
मेलबर्न आध्यात्मिक महोत्सवको मुख्य कार्यक्रम १९ देखि २३ डिसेम्बरसम्म चल्नेछ। मुख्य कार्यक्रम अवधिमा संगीतमय सत्संग प्रवचन, भगवानका लिलाहरुको नाटक सहितका विभिन्न प्रस्तुतिहरु र महाआरती लगायतका कार्यक्रम रहनेछन्। मेलबर्न आध्यात्मिक महोत्सव डिगर्स रेस्टस्थित एएनएमसीको आफ्नै प्राङ्गणमा हुनेछ।


COMMENTS